अस्पतालको परिचय

अस्पतालको परिचय

अस्पतालको परिचय 

१. परिचय

सिन्धुपाल्चोक जिल्ला, चौतारा साँगाचोकगढी नगरपालिका–५ मा अवस्थित चौतारा अस्पताल, यस क्षेत्रको प्रमुख स्वास्थ्य सेवा प्रदायक संस्था हो । जनसंख्या दृष्टिकोणले ठूलो र भौगोलिक दृष्टिकोणले चुनौतीपूर्ण क्षेत्रका लागि चौतारा अस्पतालले दीर्घकालदेखि सुलभ, समावेशी र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । वि.सं. २०३१ मा स्थापना भएको यस अस्पतालको नाममा हाल १३ रोपनी २ आना १ दाम क्षेत्रफलको सरकारी जग्गा रहेको छ । सुरुआती अवधिमा जिल्ला अस्पतालको रूपमा १५ शैयामा सीमित सेवा प्रदान गर्दै आएको अस्पतालले कालान्तरमा आफ्नो संरचना, सेवा क्षेत्र, मानव संसाधन तथा भौतिक पूर्वाधारमा उल्लेखनीय विकास गर्दै आएको छ ।

२. ऐतिहासिक पृष्ठभूमि र विकासक्रम

स्थापनाकालमा जिल्ला स्तरको अस्पतालको रूपमा सञ्चालनमा रहेको चौतारा अस्पतालले स्थानीय तहको पुनःसंरचनापछि चौतारा साँगाचोकगढी नगरपालिका अन्तर्गत संचालन पाएको थियो । पछि वि.सं. २०७५ मा बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले यस अस्पताललाई सिन्धुपाल्चोक जिल्ला स्तरीय चौतारा अस्पतालको रूपमा नामकरण गर्दै प्रदेशस्तरीय अस्पतालको मान्यता दिएको हो ।

२०७२ सालको विनाशकारी भूकम्पले अस्पतालको पुरानो संरचना पूर्ण रूपमा ध्वस्त बनाएपछि, नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौता अनुसार चिनियाँ निर्माण कम्पनीले अत्याधुनिक पूर्वाधारसहितको ३९ वटा सुविधा सम्पन्न कोठासहितको नयाँ भवन भएको र सम्पूर्ण सेवा नयाँ संरचनाबाट नै सञ्चालन भइरहेको छ ।

३. संरचना र संगठनात्मक व्यवस्था

२०७५ पछि अस्पतालको संगठनात्मक संरचना उल्लेखनीय रूपमा विस्तार गरिएको छ । बागमती प्रदेश मन्त्रिपरिषद्को मिति २०८०/०९/०३ को निर्णय अनुसार यस अस्पताललाई ५० शैयामा स्तरोन्नति गरिएको हो । यससँगै संगठन संरचना र दरबन्दीसमेत विस्तार गरिंदै अस्पतालमा हाल कुल ६३ जनाको दरबन्दी स्वीकृत गरिएको छ । यस अस्पतालले सेकेन्डरी ए लेबलको अस्पताल अन्तर्गत न्यूनतम सेवा मापदण्ड (MSS) को सूचकाङ्क अनुसार ९६ प्रतिशत प्राप्ताङ्क ल्याई बागमती प्रदेशभित्र प्रथम स्थान हासिल गर्न सफल भएको छ । अस्पतालमा दरवन्दी अनुसार पदपुर्ती नहुनु साथै दरवन्दी अनुसारको स्वास्थ्यकर्मी तथा कर्मचारी मात्रले अस्पताल संचालन गर्न नसकिने भएकोले अस्पताल विकास समिति लगाएतको अन्य कार्यक्रमको स्रोतबाट स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरू करार सेवामा लिई सेवा सुचारू गर्दै आएको छ ।